टीकापुर : नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा कैलाली क्षेत्र नं. १ मा युवा महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ। यसै क्रममा टीकापुर नगरपालिका–१ निवासी अनमोल रावलले ३५ वर्षमुनिको महाधिवेशन प्रतिनिधि पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
लामो समयदेखि नेपाली कांग्रेसको संगठन तथा नेपाल विद्यार्थी संघको राजनीतिमा सक्रिय रहँदै आएका रावलले पार्टी संगठनलाई थप मजबुत बनाउने, युवालाई पार्टीको मूलधारमा सक्रिय रूपमा सहभागी गराउने र जनतामाझ पार्टीप्रतिको विश्वास अझ बलियो बनाउने उद्देश्यसहित आफ्नो उम्मेदवारी अघि सारेका हुन्।
रावलले नेपाल विद्यार्थी संघको स्कुल इकाइ कमिटीबाट आफ्नो राजनीतिक तथा संगठनात्मक यात्रा सुरु गरेका थिए। त्यसपछि क्याम्पस कमिटीमा रहेर विद्यार्थी तथा युवाबीच संगठन विस्तार र पार्टीका गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। विद्यार्थी राजनीतिबाट पार्टीको संगठन निर्माणमा जोडिँदै आएका रावलले लामो समयदेखि पार्टीप्रति बफादार भएर काम गर्दै आएको बताएका छन्।
पार्टीभित्र युवाको भूमिका अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको बताउँदै रावलले नेतृत्व तहमा युवाको सहभागिता बढाउन आफूले उम्मेदवारी दिएको बताएका छन्। युवाको ऊर्जा, नयाँ सोच र प्रविधिसँगको पहुँचलाई पार्टी संगठनसँग जोड्न सके कांग्रेसलाई थप बलियो र जनमुखी बनाउन सकिने उनको धारणा छ।
“युवाको सहभागिता केवल नारामा सीमित नभई पार्टीको निर्णय प्रक्रियामा पनि अर्थपूर्ण रूपमा हुनुपर्छ,” भन्ने मान्यतासहित आफू अघि बढेको रावलको भनाइ छ।
रावलले पार्टी संगठनलाई वडा तहदेखि नै थप व्यवस्थित र सक्रिय बनाउनुपर्नेमा जोड दिएका छन्। कार्यकर्ता र नेतृत्वबीचको सम्बन्धलाई अझ मजबुत बनाउँदै पार्टीका गतिविधिलाई जनतासँग प्रत्यक्ष जोड्ने आफ्नो प्राथमिकता रहेको उनले बताएका छन्।
त्यस्तै, पछिल्लो समय राजनीतिप्रति युवामा देखिएको निराशा र वितृष्णालाई कम गर्दै युवालाई पार्टी तथा लोकतान्त्रिक राजनीतिक प्रक्रियामा आकर्षित गर्न आवश्यक रहेको रावलको भनाइ छ। युवाका सवाललाई पार्टीको नीति र नेतृत्व तहसम्म प्रभावकारी रूपमा पुर्याउन आफूले भूमिका निर्वाह गर्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन्।
रावलले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत आकांक्षाभन्दा पनि पार्टी संगठनको सुदृढीकरण, युवाको प्रतिनिधित्व र कार्यकर्ताको भावनाको प्रतिनिधित्व गर्ने अवसरका रूपमा लिएको बताएका छन्।
कैलाली क्षेत्र नं. १ अन्तर्गतका २३ वटै वडामा रहेका पार्टीका वडा सभापति, क्षेत्रीय प्रतिनिधि, नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूसँग निरन्तर संवाद र सहकार्य गर्दै अघि बढ्ने उनले बताएका छन्। आफ्नो उम्मेदवारीलाई सहयोग, समर्थन र सुझाव दिन उनले क्षेत्र नं. १ का सम्पूर्ण प्रतिनिधि तथा पार्टीका नेता–कार्यकर्तालाई अपिलसमेत गरेका छन्।
“क्षेत्र नं. १ का सम्पूर्ण वडा, टोल र कार्यकर्तासँगको सहकार्यबाट पार्टीलाई अझ बलियो बनाउन सकिन्छ। मेरो उम्मेदवारी युवा पुस्ताको आवाजलाई पार्टीको नेतृत्व तहसम्म पुर्याउने प्रयास हो,” रावलले बताएका छन्।
राजनीतिसँगै व्यवसायमा समेत सक्रिय रावलले वित्त व्यवस्थापनमा स्नातकोत्तर गरेका छन्। शैक्षिक तथा व्यावसायिक अनुभवलाई संगठन निर्माण र व्यवस्थापनमा उपयोग गर्ने उनको विश्वास छ। स्वच्छ छवि, इमानदार र मिलनसार स्वभावका रावल पार्टीभित्र युवा पुस्तामाझ परिचित छन्।
आफू निर्वाचित भए पार्टी संगठनलाई आधुनिक र व्यवस्थित बनाउने, युवालाई संगठनमा थप आकर्षित गर्ने तथा पार्टीका गतिविधिलाई जनतासँग अझ नजिक पुर्याउने विषयलाई प्राथमिकतामा राख्ने रावलले बताएका छन्।
कैलाली क्षेत्र नं. १ कांग्रेसको संगठनलाई थप मजबुत बनाउन युवा पुस्ताको भूमिका महत्वपूर्ण हुने भएकाले आफ्नो उम्मेदवारीलाई सोही उद्देश्यसँग जोडेर अघि बढाएको उनको भनाइ छ।
पार्टीको संगठन विस्तारदेखि विद्यार्थी राजनीतिसम्मको अनुभव, शैक्षिक पृष्ठभूमि तथा व्यवसायिक अनुभवलाई आधार बनाउँदै रावलले ३५ वर्षमुनिको महाधिवेशन प्रतिनिधिका रूपमा आफूलाई अघि सारेका हुन्। उनको उम्मेदवारीसँगै कैलाली क्षेत्र नं. १ मा युवा प्रतिनिधित्व र नयाँ पुस्ताको नेतृत्वबारे पनि चर्चा सुरु भएको छ।





Be the first to share your thoughts!
We appreciate respectful, insightful perspectives from our readers.