कैलाली। कैलालीको लम्कीचुहा नगरपालिका–४, अमरपुरमा खुल्ला पुरुष फुटबल प्रतियोगिता तेस्रो अमरपुर गोल्डकप–२०८३ आयोजना हुने भएको छ। समानता युवा क्लबको आयोजनामा आगामी २०८३ साल कात्तिक १५ गतेदेखि प्रतियोगिता सञ्चालन हुन लागेको हो।
युवाहरूलाई खेलकुदप्रति आकर्षित गर्दै खेलकुद क्षेत्रको विकास, प्रतिभावान खेलाडीको पहिचान तथा स्थानीय स्तरमा फुटबल खेलको प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
अमरपुर गोल्डकप सचिवालय समितिका सचिव वीरेन्द्रबहादुर शाहीले युवाहरूलाई खेलकुदमा सहभागी गराउँदै उनीहरूको प्रतिभा विकास गर्ने र खेलकुदप्रति आकर्षण बढाउने लक्ष्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिनुभयो।
आयोजकका अनुसार प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहनेछ। प्रतियोगितामा सहभागी हुन इच्छुक टिमले २०८३ कात्तिक ८ गतेदेखि कात्तिक १२ गतेसम्म टिम दर्ता गराउन सक्नेछन्।
प्रतियोगिताको विजेता टिमले एक लाख रुपैयाँ र उपविजेता टिमले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ। साथै, खेलाडीहरूको हौसला बढाउन विभिन्न विधामा समेत पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगिताको मुख्य प्रवर्द्धकका रूपमा लम्कीचुहा नगरपालिका रहेको छ भने जापानस्थित बुलबुल मल्टी सर्भिस लिमिटेड सहप्रायोजकका रूपमा रहेको छ।
स्थानीय स्तरमा खेलकुदको विकास, युवाहरूको सक्रिय सहभागिता र फुटबल प्रतिभालाई प्रोत्साहन गर्ने अपेक्षासहित प्रतियोगिता आयोजना गर्न लागिएको हो।





Be the first to share your thoughts!
We appreciate respectful, insightful perspectives from our readers.