कैलाली । कैलाली जिल्लाको कैलारी गाउँपालिका वडा न ७, बसन्ता, घटकपुरस्थित बसन्ता मिनी पार्कमा बौद्ध भिक्षुद्वारा तीन महिने वर्षावास अधिष्ठान कार्यक्रम–२०८३ सम्पन्न भएको छ।
सुईती सामुदायिक वन उपभोक्ता समूह, कैलारी गाउँपालिका–७ तथा धर्मोदय सभा शाखा बुद्ध बिहार (बुद्ध मन्दिर), धनगढी–१, कैलालीको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य धर्मराज पाठक प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। विशेष अतिथिका रूपमा कलाकार अम्बिका आचार्य तथा अतिथिका रूपमा सुईती सामुदायिक वन उपभोक्ता समूहकी अध्यक्ष पवित्री चौधरी लगायत स्थानीय जनप्रतिनिधि, समाजसेवी, बौद्ध धर्मावलम्बी र सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन परसु नारायण चौधरी ले गर्नुभएको थियो भने सभाको अध्यक्षता कमलबहादुर पुन मगर ले गर्नुभएको थियो।
कार्यक्रममा श्रद्धेय भन्ते धम्म रत्न ज्यूले बौद्ध परम्पराअनुसार तीन महिने वर्षावास अधिष्ठान ग्रहण गर्नुभएको छ। वर्षावास अवधिभर उहाँ बसन्ता मिनी पार्कमा बसोबास गर्दै ध्यान, धर्म तथा नैतिक एवं आध्यात्मिक शिक्षासम्बन्धी कार्यक्रम सञ्चालन गर्नुहुने जनाइएको छ।
आयोजकका अनुसार वर्षावास कार्यक्रमले बौद्ध धर्म, संस्कृति तथा नैतिक शिक्षाको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।





Be the first to share your thoughts!
We appreciate respectful, insightful perspectives from our readers.